PAN भनेको के हो?
करदाताको पहिचान दिने स्थायी सङ्केत अङ्कलाई ‘PAN’ भनिन्छ । करदाताले व्यवसाय गर्ने स्थान, व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि यो एकपटक लिइसकेपछि सो करदाताका लागि सधैँभरि रहिरहने हुन्छ, त्यसैले यसलाई स्थायी लेखा नम्बर “PAN” भनिएको हो । प्यान (PAN) को पूरा रूप ‘Permanent Account Number’ हो ।
यो व्यवसाय, रोजगारी एवम् लगानीको पहिचान जनाउने नम्बर पनि हो । व्यक्तिका लागि यो कर तिर्ने प्रयोजनका लागि प्रयोग गरिन्छ । करमा यो व्यक्तिगत सूचना भण्डार गर्ने कार्यका लागि प्रयोग गरिन्छ । कम्प्युटर प्रणालीबाट सिर्जना हुने यो सङ्केत नौ अङ्कको हुन्छ । यसलाई विद्युतीय प्रणाली (इन्टरनेट) बाट पनि प्राप्त गर्न सकिन्छ, जसलाई इ–प्यान भनिन्छ । यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइट https://ird.gov.np/ मा गई तहाँ उपलब्ध अनलाइन फाराम भरी व्यक्तिगत एवम् व्यावसायिक इ–प्यान प्राप्त गर्न सकिन्छ ।
उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैङ्कसँग हुने बैङ्किङ कारोबार, आफूले जारी गर्ने बिल विजक, खाता बही, कागजात, आय विवरणलगायत करसम्बन्धी सम्पूर्ण विवरणमा प्यानको उल्लेख गर्न अनिवार्य भएकाले प्यान लिनुपर्छ । यो नम्बरले करदातालाई एउटा विशिष्ट सङ्केतद्वारा छुट्टै पहिचान दिने भएकाले आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न यो प्यान लिएपछि सहज हुन्छ । नेपाल सरकारले जारी गरेकाे नागरीक एप बाट समेत सजिलै प्यान नम्बर र कार्डकाे लागि आवेदन दिन सकिन्छ। प्यान राज्यको आर्थिक कार्यप्रणालि व्यवस्थापन गर्ने एक अभिन्न स्वरुप हो।