नेपालकाे भुगाेलः हिमाली प्रदेश

नेपालको उत्तरी भेगमा हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भू–भाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली श्रृङ्खला देखिने नेपालका धेरै भू–भागहरू छन् । जस्तैः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन् । धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भू–भाग पर्छन् । ती क्षेत्रहरूबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरू नेपालको हिमालयखण्डमा छन् । कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्णा, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमश्रृङ्खलाहरू हुन् । यी श्रृङ्खलाहरू अधिकतर भोट (तिब्बत) का सीमावर्ती क्षेत्रमा रहेका छन् ।

हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । उब्जनी न्यून हुने हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ । ऊनका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।

विश्वकाे सर्वाेच्च शिखर सगरमाथा
विश्वकाे सर्वाेच्च शिखर सगरमाथा

यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायुक्षेत्रअन्तर्गत पर्छ । उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको चुङकुङ गाउँमा आलु फल्छ । २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा २ सय मिलिमिटर वर्षा हुन्छ । यस्ता उच्च हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ ।

करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ । लगभग ४,००० मिटरमाथिका भू–भागमा छोटो अवधिको वर्षायाममा पनि तुषारापात हुन्छ । ४,०००– ५,००० मिटरसम्म होचो झाङ झाडी (जडीबुटी) पाइन्छ । तर मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरेको पाइन्छ । करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ । अरू भू–भाग ठाडो भीर, ढुङ्गे र ठण्डा हुँदा चरनको लागि उपयुक्त छैन । घाँस पुनः पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको मूल आवश्यकता हो । माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन मात्रै खेतीको लागि उपयुक्त छ । यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेको कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरेको छ ।

नेपालको लगभग १९.७ प्रतिशत (२,८९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त (Glaciated) छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान (Gradient) ले गल्छेडा र गल्छी (Canyons) बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाइको भिन्नता छ । यसैले यहाँको एउटै ढलोमा उष्ण, उपोष्ण र न्यानो समशीतोष्ण एवं चिसो शीतोष्ण बोटबिरूवा पाइन्छन् । यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भू–भागमध्ये ३४ प्रतिशत भू–भागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भू–भागले मात्र खेती धानेको छ । यस्तो २००,००० हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ ।

हिमाली क्षेत्रमा नेपालका पूर्वदेखि क्रमशः ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा र रुकुम (पूर्व) गरी २० जिल्ला पर्दछन् ।

हिमाली प्रदेशलाई निम्न तीन बृहत् क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छः

मुख्य हिमाली क्षेत्र

हिमालयअन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली श्रृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १,३११ चुचुराहरू रहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो– ओयु, धवलागिरि, मनासलु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन चुचुराहरू रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ्, गणेश, गोरखा, अन्नपूर्ण, धौलागिरि, काञ्जीरोवा, अपी र सैपाल हिमश्रृङ्खलाअन्र्तगत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये ८ वटा हिमशिखरहरू पर्दछन् ।

भित्री हिमाली क्षेत्र

मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बूढी खोटाङ, केरूङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्ठित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँच र बेँसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछाँयामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ । यस भेगमा शुष्क जलवायु पाइन्छ । यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्रायः पाइदैन । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चौरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म फल्छ । हिउँदमा ठण्डा हुनेहुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ ।

सीमान्त हिमाली क्षेत्र

यो अन्तरहिमाली श्रृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानी ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमश्रृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पुराना मानिन्छन् । मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् । वृष्टिछाँयामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ ।

प्रश्न नं १ः नेपालकाे भाैगाेलिक अवस्थितिका विषयमा उल्लेख गर्दै हिमाली प्रदेशकाे महत्व उल्लेख गर्नुहाेस। (५+५)
प्रश्न नं २ः नेपालकाे भाैगाेलिक स्वरूपले यहाँ काे जनजिविकामा पारेकाे प्रभाव का विषयमा उल्लेख गर्नुहाेस। १०
प्रश्न नं ३ः कुनै पनि देशकाे जनजिविका त्यहाँकाे भाैगाेलिक वनावट सँग मिल्दाेजुल्दाे हुन्छ भन्ने भनाइ सँग तपाँइ कत्तिकाे सहमत हुनुहुन्छ? यस सन्दर्भमा नेपालकाे हिमाली प्रदेशकाे जनजिविकाकाे विषयमा तपाँइकाे धारणा प्रस्तुत गर्नुहाेस। १०

प्रश्न नं ४ः नेपालकाे भाैगाेलिक वनावट र यस्ले सिर्जना गरेका अवसरहरूकाे चर्चा गर्दै भाैगाेलिक वनावटले उत्पन्न हुने चुनाैतिका विषयमा अालाेचनात्मक टिप्पणि गर्नुहाेस। ५+५

Add a Comment

Your email address will not be published. Required fields are marked *